बिर्तामोड, पुस १३ । मोफसलको चर्चित फुटबल क्लब झापा–११ एफसीले सिक्किमको नाम्चीमा हुन गइरहेको १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
आयोजक नाम्ची जिल्ला फुटबल संघ नाम्ची सिक्किमको आयोजनामा वार्षिक रुपमा हुँदै आएको यो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
नाम्चीको जोरेथाङ स्टेडियममा ९ देखि २१ जनवरीसम्म हुन गइरहेको प्रतियोगितामा झापा–११ ले प्रिक्वार्टर फाइनलमा जनवरी १२ तारिखका दिन जिटिए–११ दार्जिलिङको सामना गर्नेछ ।
प्रतियोगितामा भारतको आइ लिग टोली सुदेवा दिल्ली फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले पनि सहभागिता जनाएका छन् ।
झापा ११ ले पुसको पहिलो साता पहिलो संस्करणको झापा कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
The post झापा ११ ले १० औँ अल इन्डिया चिफ मिनिस्टर गोल्डकप खेल्ने appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् ।
फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके क्युएफएक्समा देव वाणी हेरेका हुन् ।
झापा बिर्तामोडकी खड्का र इलाम कन्यामका लेप्चाले झापा, इलाम तथा पूर्वका दर्शकले फिल्मलाई माया गरेर हलमा गएर हेरिदिन आग्रह गरे ।
बाबु साहेब बलामीले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको तथा नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आएको हो ।
देशकै ठुला मल्टिप्लेक्स हल क्युएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मको सो रहेको छ ।
फिल्ममा सुनिल थापा, नवकलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदिप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ ।
सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायाँकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन् ।
मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन् ।
फिल्मको प्रचारका लागि बलिउड अभिनेता ह्यारी जोस तथा कुन्दन भारद्वज काठमाडौँमा छन् । उनीहरु आज शुक्रबार इलाम जाने कार्यक्रम रहेको छ ।
The post हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । अति व्यस्त बन्दै गएपछि सञ्चालनमा आएको काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडको एकतर्फी बाटो बन्द भएको छ ।
१० दिनयता दुईतर्फबाट नै सवारी सधान सञ्चालन हुन थालेको छ । निकै तामझामका साथ सुरु गरिएको एकतर्फी बाटोको सुरुवात दुई महिना नपुग्दै बन्द भएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा सुरु गरिएको एकतर्फी बाटो त्यस क्षेत्रका व्यवसायीले व्यापार नभएको भन्दै हटाएका हुन् ।
ग्राहक नआएको गुनासोपछि सो बटोमा पर्ने व्यवसायीको आग्रहमा एकतर्फी बाटो बन्द गरेर दुईतर्फी नै बनाइएको संघका महासचिव कुशल खतिवडाले बताए ।
सो सडकमा साना चारपांग्रे तथा तीन पांग्रे र दुई पांग्रे सवारी साधनलाई मात्र आउजाउ गर्न दिइएको संघले जनाएको छ ।
ट्राफिक प्रहरी र संघले दीर्घकालीन योजना नबनाई तथा आवश्यक परामर्शबिनै एकतर्फी बाटो सुरुवात गर्दा व्यापारी नै विरोधमा आएको चर्चा भएको छ ।
यसैबीच, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे मात्र पार्किङ गर्न पाइने नियम भने यथावत राखिएको छ ।
त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको संघका कोषाध्यक्ष युवराज निरौलाले बताए ।
गत कात्तिक ११ गते एक कार्यक्रमका बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर ५, स्थानीय व्यवसायी लगायतले सांकेतिक चिन्ह राखेर एकतर्फीको सुरुवात गरेका थिए ।
The post हट्यो हिकोलारोडको एकतर्फी, संघ र ट्राफिक प्रहरी निरीह appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुपर्दैन।
यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।
सरकारी राजस्वसँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णयसहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको सुरुवात हुनुअघि संसद्मा प्रस्तुत गर्ने विनियोजन विधेयकबाट यो विषय हटाएपछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत विद्यार्थीबाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो ।
तर, चालु आवको विनियोजन विधेयकमा विद्यार्थीबाट लिइने शुल्क र त्यसबाट सङ्कलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो ।
अर्थ मन्त्रालयसँग यस विषयमा छलफल गर्दा शुल्क मिनाहा गर्न नसकिने भएपछि मन्त्रालयले अर्को वर्षदेखि मात्रै शुल्क नलिने गरी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो।
बोर्डको अहिलेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अर्को वर्षदेखि कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले रजिस्ट्रेसन र परीक्षा शुल्कबापत सरकारलाई पैसा तिर्नु पर्दैन ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गर्छन्।
अहिले रजिस्ट्रेसन फारामबापत विद्यार्थीले तीन सय रुपियाँ राजस्व तिर्दै आएका छन् । त्यस्तै कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हरेक विद्यार्थीले परीक्षा फारामबापत पाँच सय रुपियाँ राजस्व तिर्दै आएका छन् ।
कक्षा ११ मा रजिस्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई छ सय रुपियाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिस्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ।
शुल्क लिने कि नलिने भन्ने अन्योलका कारण यस वर्ष एसइईको परीक्षा फाराम भर्ने समयसमेत एक महिना ढिलो भइसकेको छ । परीक्षा नियन्त्रक पौडेलका अनुसार यस पटक परीक्षा फाराम भर्ने समय ३० दिन मात्रै दिइने छ । विगतमा परीक्षा फाराम भर्नका लागि ४५ दिन समय दिने गरिएको थियो।
साथै रजिस्ट्रेसन तथा परीक्षा फारामका लागि दोब्बर दस्तुर तिरेर एक साता समय थप दिने व्यवस्था पनि यस पटकबाट हटाइएको बोर्डले जनाएको छ।
परीक्षा फाराम र रजिस्ट्रेसन फारामबापत लिने शुल्क मिनाहा गरेपछि शिक्षा मन्त्रालयलाई भने हरेक वर्ष एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक व्ययभार थपिने छ।
The post कक्षा ९, १० र ११ मा अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षाा (एसइइ ) परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि आवेदन फाराम खुलाएको छ।
बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गरी परीक्षामा सहभागी हुन एक महिनाभित्र फाराम भर्न आह्वान गरेको हो। प्रतिपरीक्षार्थी परीक्षा दस्तुर ५०० रुपैयाँ सहित शुक्रबारदेखि माघ १२ गतेसम्म फाराम भर्न सकिने कार्यालयले जनाएको छ ।
तोकिएको समयभित्र फाराम भर्ने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन दिँदै बोर्डले आवेदन फाराम नभर्ने विद्यार्थीले एसइइ- २०८१ मा सामेल हुन नपाउने जनाएको छ ।
२०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा सहभागी भई कुनै विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त परीक्षार्थी वा परीक्षामा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहेमा ती विषयमा मात्र परीक्षा आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ।
२०८० सालको नियमित वा पुरक परीक्षाका परीक्षार्थीहरुले एनजी भएका र अनुपस्थित भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षाका लागि आवेदन फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ ।
The post यो वर्ष एसइइ दिने विद्यार्थीको खुल्यो आवेदन appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि कमल ७ का वडा अध्यक्ष पृथ्वीपति राईले खुसी व्यक्त गरे ।
विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन सामाजिक उत्तरदायित्वअन्तर्गत १०० थान स्कुल ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाको आफ्नो कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका विपन्न १० हजारभन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको बताए ।
कार्यक्रममा विद्यालयको प्रधानाध्यापक मिनादेवी लावतीले सहकारी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा राखिन् । उनले सिम्रिकले गरेको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहज हुने बताइन् ।
झापा सहित ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले लामो समयदेखि समाज र समुदायको हित र उन्नतिमा विभिन्न सेवामुलक कार्यक्रम गर्दै आएको छ ।
The post अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हार्ट फाउन्डेसन) को केन्द्रीय सभा झापाको बिर्तामोडमा हुने भएको छ ।
बिर्तामोडस्थित अग्रसेन भवनमा पुस १३ र १४ गते प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा हुन लागेको आयोजक संस्थाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
केन्द्रले मुटु रोगसम्बन्धी सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । केन्द्र र यसका गतिविधिको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको उनले बताए ।
डक्टर मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरूमा तदर्थ समिति विस्तार गरी ७७ वटै जिल्लाबाट कार्य गर्दै आएको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिए ।
केन्द्रले मुटुका बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै सहिद गङ्गालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरूसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए ।
केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरूलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए । गत वर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रमको अवधिमा स्वयमसेविकाहरूलाई प्राविधिक तालिम दिनुका साथै बिएन्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
पुस १३ गते शनिबार दिउँसो केन्द्रका केन्द्रीय अध्यक्ष डक्टर सत्यनारायण सुवालले कार्यक्रमको उद्घाटन गर्नेछन् ।
कार्यक्रममा सहभागीहरूलाई झापाका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेका थिए भने झापा अध्यक्ष अग्रवालले केन्द्रीय सभामा हुने कार्यक्रमका विषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा हार्ट टेक्नियसयन अंशुकाराज उपाध्यायको समेत उपस्थिति रहेको थियो ।
The post हार्ट फाउन्डेसनको केन्द्रीय सभा बिर्तामोडमा हुने appeared first on Jhapa Today.
भद्रपुर, पुस १२ । झापाको भद्रपुरमा चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५३ जनालाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाका एकएकजना असल स्याहारकर्ता गरी १० जना र ६० वर्षदेखि ७० वर्ष सम्मका ४३ जना अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान गरिएको हो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, ज्येष्ठ नागरिक नगर समन्वय समितिका अध्यक्ष हेमप्रसाद खनाललगायतले असल स्याहारकर्ताहरूलाई पानी तताउने विद्युतीय जगसहित प्रशंसापत्रले सम्मान गरेका थिए ।
त्यस्तै, ४३ जना ज्येष्ठ अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई न्यानो सिरक प्रदान गरिएको थियो ।
नगरपालिकाको सामाजिक शाखाको आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख पोखरेलले नगरपालिकाले अपाङ्ग तथा ज्येष्ठ नागरिकको, क्षेत्रमा विभिन्न कार्ययोजनाहरू ल्याएको बताउँदै केन्द्रीय तथा प्रादेशिक सरकारले स्थानीय सरकारसँग समन्वयन गरी थप कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, समन्वय समिति झापाका उपाध्यक्ष सूर्यनारायण गणेश, भद्रपुर २ का वडा अध्यक्ष राम कँडेललगायतले मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले र सञ्चालन सचिव ईश्वर पोखरेलले गरेका थिए ।
The post भद्रपुरका अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान appeared first on Jhapa Today.
बिर्तामोड, पुस १२ । बिर्तामोडमा आयोजित अन्तरविद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्ररत्न मावि बिर्तामोड ३ प्रथम भएको छ ।
पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । त्यस्तै, निधि मावि बिर्तामोड २ दोस्रो र महेन्द्रज्योति मावि बिर्तामोड १० तेस्रो भएका छन् ।
प्रतियोगितामा महेन्द्ररत्नले ११ स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । निधिले १० स्वर्ण, ४ रजत र ३ कास्य तथा महेन्द्रज्योतिले १० स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । उनीहरुले क्रमशद्य २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
The post बिर्तामोडको राष्ट्रपति रनिङ शिल्डमा महेन्द्ररत्न प्रथम appeared first on Jhapa Today.
बिर्तामोड, पुस ११ । भोजपुर ५ बोखिममा स्करपियो दुर्घटना हुँदा झापाका एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका छन् ।
दुर्घटनामा झापा गौरादह ५ जामबारी बस्ने ६५ वर्षीय झंकबहादुर घलेको मृत्यु भएको हो । टाउकोमा चोट लागेका घलेलाई डक्टरले मृत घोषणा गरेका थिए ।
आज बिहान ७ः३० बजे बोखिममा प्र १–०२–००२ च ६९२३ नम्बरको स्करपियो अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा मृतक घलेकी श्रीमती ५८ वर्षीया देवीकला घलेसहित भोजपुर र इलामका यात्रुहरु रहेका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहको निगेल राई, लाक्पादिकी शेर्पा, इहाङ सुब्बा, रामकुमार राई र मेनुका घलेलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
The post भोजपुरमा स्करपियो खस्दा झापाका घलेको मृत्यु, नौ घाइते appeared first on Jhapa Today.